नेपालगञ्ज । निर्वाचन सुरक्षालाई लक्षित गरी मंसिर १ गते मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने भएका छन् ।
राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म निर्वाचनको दिन बेलुकासम्म नाका बन्द गर्न सरकारले भारतीय अधिकारीसँग समेत समन्वय गरेको छ । चुनावको वेला नाका बन्द गर्न भारतीय पक्षलाई आग्रह भइसकेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । निर्वाचनको ७२ घण्टा अघि नाका बन्द हुने तर अत्यावश्यक अवस्थामा भने आवातजावत गर्न पाइनेछ ।
त्यस्तै निर्वाचनका लागि सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मतदानको दिन ४ मंसिर र भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय भएको हो । निर्वाचनको अघिल्लो दिन ३ मंसिरमा शनिबार परेकाले सार्वजनिक बिदा छ । मतदानस्थल रहेका विद्यालयमा भने २ देखि ५ मंसिरसम्म बिदा दिने निर्णय गरिएको छ । अधिकांश मतदानस्थल विद्यालयमा छन् ।