नेपालगन्ज । निर्वाचन आयोगले मतदान गर्न योग्य सबै नागरिकलाई ढुक्क भएर आफ्नो मताधिकारको उपयोग गर्न अपील गरेको छ । मतदानको अघिल्लो दिन आज आयोगमा विशेष पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नजिकको मतदान केन्द्रमा गएर संविधानले दिएको मौलिक हक अन्तर्गत पर्ने मतदानको सदुपयोग गर्न आग्रह गरे ।
थपलियाले भयमुक्त, स्वतन्त्र र निष्पक्ष ढंगले चुनाव सम्पन्न गराउनको लागि आयोगले व्यवस्थापकीय र सुरक्षाका सबै तयारी पूरा गरेकाले कसैको डर, धम्की र लोभमा नपरी आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई मत दिन पनि आग्रह गरेका छन् । सकभर सबै कर्मचारी र नागरिकले मतदानमा भाग लिन पाउन भनेरै सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिएको उल्लेख गर्दै थपलियाले आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने अधिकारको पूर्ण उपयोग गर्न अपिल गरे ।
मतदातालाई मतदान केन्द्रमा जान नदिने, मतपत्र वा मतपेटिका लुट्न खोज्ने, मतपत्रको दुरुपयोग गर्ने, मत दिएको फोटो भिडियो खिच्ने, पटक पटक मतदान गर्न खोज्ने र मतदान कक्षमा जान खोज्ने अनधिकृत व्यक्ति लगायतलाई तत्कालै कडा भन्दा कडा कारबाही गर्न कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।
मतदानको ४८ घण्टा अघिदेखि सुरु भएको प्रचार प्रशार निषेधको अवधिमा काुनन पालना भए/नभएको विषय आयोगले विशेष सुक्ष्म अनुगमन गरिरहेको र सञ्चारमाध्यम र सामाजिक सञ्जालका सूचनालाई समेत जानकारी लिएर नियमन र निगरानी गरिरहेको पनि उनले बताए ।
चुनावको स्वच्छता र निष्पक्षतामा कतैबाट प्रश्न नउठ्ने गरी काम भइरहेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई सहयोग गरिदिन सबै निकाय र मतदातासँग आग्रह पनि गरेका छन् ।