जानकी (बाँके) । जानकी गाउँपालिकामा आधारभूत तह (कक्षा १३) का शिक्षकहरुका लागि सञ्चालित एकीकृत पाठ्यक्रम प्रबोधिकरण सम्बन्धि दुई दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन भएको तालिमको विज्ञ प्रशिक्षकका रुपमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक उपसचिव हरिप्रसाद निरौला रहेका थिए ।
तालिम समापन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष छब्बन खाँ थिए भने त्यस अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, विज्ञ प्रशिक्षक निरौला, शिक्षा शाखा प्रमुख कृष्णकुमारी भण्डारी, अध्यक्ष खाँका स्वकीय सचिव सोहराब अली दर्जी, प्रेस सल्लाहकार रविन्द्र घिमिरे, प्रशिक्षार्थी शिक्षकहरु लगायत उपस्थित थिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीले पालिकाको बृत्ति विकासका लागि शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता देखिएको बताउँदै आगामी बर्षहरुमा शिक्षा क्षेत्रको लगानी बढाउन गाउँपालिका अध्यक्षसंग परामर्श गर्ने बताए । उनले तालिमा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।
विज्ञ प्रशिक्षक निरौलाले बदलिँदो समय र परिवेश अनुसार पाठ्यक्रमको क्षेत्र र दायरा पनि फराकिलो भइरहेको भन्दै समयानुकुल पठनपाठनमा जोड दिए । सहभागी प्रशिक्षार्थी शिक्षक राजेशप्रसाद गुप्ताले पाठ्यक्रमका विषयमा प्राप्त ज्ञान र जानकारीलाई शिक्षण सिकाई क्रियाकलापमा उतार्न कोसिस गर्ने बताए ।
