विराटनगर । कारागार भुक्तान गरेर सकिने दिनमा एक कैदीबन्दीको मृत्यु भएपछि कोशी अस्पताल तनावग्रस्त बनेको छ ।
लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका-१० का चण्डेश्वर सहनीको कैद भुक्तान अवधि आज सकिंदै थियो । आजै छुट्ने तयारीमा रहेका सहनीको बिहान करिब साढे ६ बजे मृत्यु भएको हो ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई दुई दिनअघि नै अस्पतालमा भर्ना गराएको मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेले जानकारी दिए । उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तहरूले भने समयमै जानकारी नदिएको र उपचारमा लापरबाही भएको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् ।
सहनीको परिवारलाई उनले दिएकै सम्पर्क नम्बरमा कारागारले जानकारी गराएको भएपनि मृतकले अस्पताल जानुअघि नै दिएको नम्बर गलत भएर सम्पर्क हुन नसकेको निमित्त जेलर न्यौपानेले बताए ।
निमित्त जेलर भन्छन्-"सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई जानकारी दिन ढिलो भएको हो ।" सहनीलाई यसअघि पनि केहीदिन अघि यही समस्याकै कारण कारागारले अस्पताल लगेर जाँच गराएर ल्याएको थियो ।
मृत्यु हुनु भन्दा अघि सहनी सुरक्षा गार्डसँगै गएको तर अस्पतालमा उनको स्वास्थ्यमा समस्या बल्झेपछि आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो । अदालतले फैसला गरेपछि उनी फरार थिए । २०७९ माघ १७ गते पक्राउ परेपछि उनलाई अदालतमा उपस्थिति गराएर कारागार चलान गरेको थियो ।