नेपालगन्ज । बाँकेको कोहलपुरमा २८ वर्षपछि 'एन्फा कम्युनिटी कोचिङ कोर्श' सुरु भएको छ । चार दिनसम्म कोहलपुरकाे १३ बिघामा सञ्चालन हुने कोचिङ कोर्शमा एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिनेछन् ।
जिल्ला खेलकुद विकास समितिकाे गठन पश्चात पहिलोपटक आयोजना भएको प्रशिक्षण कार्यक्रमलाई कोहलपुर नगरपालिकाकाे सभाहलमा आज औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा कोहलपुरका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, राष्ट्रिय खेलकुद परिषद (राखेप) केन्द्रीय सदस्य एलबी क्षेत्री, एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का, एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंह, एन्फाका केद्रीय सदस्य एवम् बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश प्रशिक्षक जनक केसी लगायतकाे उपस्थिति रहेको थियो ।
कार्यक्रममा कोहलपुरका प्रमुख आचार्यले कोहलपुरमा एन्फाका पदाधिकारी प्रशिक्षणका लागि आउनु गौरवको कुरा रहेको बताए । उनले भने,'अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपाललाई प्रतिनिधित्व गराउन नेपाली टीमलाई लिड गर्नुभएका हरि खड्का आज कोहलपुरमा उपस्थित हुनुलाई हामी सबैले गौरव ठान्नुपर्छ ।'
आचार्यले कोहलपुरमा रहेका १५ वटै वडालाई समावेश गराउने गरी प्रशिक्षण कार्यकम आयोजना भएको र यो प्रशिक्षणबाट कोहलपुरले राम्रा कोचहरु पाउने बताए । 'हामीले खेलकुद आयोजना गर्दै गर्दा कोचहरुको अभाव झेलिरहेका हुन्छौं । अब यो प्रशिक्षणले त्यो अभाव अन्त्य गर्छ भन्ने मलाई लाग्छ ।' साथै आचार्यले कोहलपुर गोलकप कोहलपुरको चिनारी रहेको बताउँदै कोहलपुरको नेतृत्वमा जो आए पनि कोहलपुर गोल्डकपलाई अपनत्व गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उपप्रमुख सुवेदीले कोहलपुरले हरेक क्षेत्रका खेलकुदका गतिविधिलाई प्राथमिकता दिइरहेको बताइन् । 'हामीले हरेक क्षेत्रका खेलकुदका गतिविधिलाई प्राथमिकता दिँदै महिला, दृष्टिविहीन, पुरुष सबैका लागि खेलकुदका कार्यक्रम गर्दै आइरहेको र आयोजना गर्दै जाने छौं,' सुवेदीले भनिन् ।
त्यस्तै कार्यक्रममा सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विकले 'एन्फा कम्युनिटी कोचिङ कोर्श' कोहलपुरका लागि अति उपयोगी कार्यकम रहेको बताए । उनले यस्ता कार्यक्रमले कोहलपुरलाई फुटबल हब बनाउन सहयोग गर्ने बताए । एन्फाका केद्रीय सदस्य एवम् बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोजराज शाहीले कोहलपुर नगरपालिकालाई धन्यवाद दिँदै पश्चिम क्षेत्रमा कोहलपुरले खेलकुदको क्षेत्रलाई प्राथमिकता दिइरहेको बताए । उनले कोहलपुरमा पनि अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न मिनी रंगशालाको अवधारणा लिएर अघि बढ्न आबश्यक रहेको बताए । उनले हाल 'डी' लाइसेन्सकाे प्रशिक्षण आयोजना भए पनि भविष्यमा 'सी' लाइसेन्सकाे पनि प्रशिक्षण आयोजना गरिने बताए ।
प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तु लगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीकाे सहभागीता रहेको छ । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य र एन्फाको सहयोगमा कोचिङ कोर्श सञ्चालन भएको हो ।