नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जमा ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।
आज दिउँसो साढे १२ बजे जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज १६ चौलिका चोकबाट १०३ ग्राम ब्राउनसुगरसहित दुई जना भारतीय युवकलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा रुपैडिहाबाट नेपालगञ्जतर्फ यूपी ३२ डिके ६७५१ नम्बरको भारतीय जीपमा ठूलो परिमाणमा ब्राउनसुगर आउँदै गरेको जानकारी पाएको बाँके प्रहरीले बाटोमै घेरा हालेर जीपलाई नियन्त्रणमा लिई जाँच गर्दा १०३ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
उक्त जीपमा सवार भारतको बहराइच सलारगञ्ज घर भएका २१ वर्षीय इरफान कुरेसीबाट ८०.७० ग्राम र सोही ठाउँका १७ वर्षीय रिजवान कुरेसीको साथबाट २२.६० ग्राम ब्राउनसुगर बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुसहित ब्राउनसुगर र जीपलाई समेत नियन्त्रणमा लिएर जिल्ला लागूऔषध कसुरमा थप अनुसन्धान गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।