राप्तीसोनारी( बाँके )।कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनको आजबाट परीक्षण सुरु गरिएको छ । विद्युतीकरण शुरु भएको झन्डै १० बर्षपछि कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षण शुरु गरिएको हो । वन क्षेत्रको अवरोधका कारण पोल गाड्ने र तार तान्ने काम ९ बर्षसम्म हुन सकेको थिएन । गत वर्ष साउनमा मन्त्री परिषदको निर्णयबाट वन क्षेत्रको रुख काट्ने निर्णय भएपछि विद्युतीकरणको कामले तिब्रता पाएको हो। नेपाल विद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयले परीक्षण हुने बारेमा सार्वजनिक सूचना नै जारी गरेको छ । जारी सूचना अनुसार प्राधिकरणले ३३ केभी प्रसारण लाइनको परीक्षणका लागी ११ हजार भोल्ट करेन्ट प्रवाह गरेको छ । राप्ती नदी देखी धामपुर सबस्टेशन खण्डमा पर्ने कुण्डा, डाडाचेप्री, गुलेरीचोक, ढेलैया चोक, आलीनगर, गोडधोई, जुरपनिया, धामपुर तथा धामपुर सबस्टेशन भित्रको क्षेत्रमा लाइन निर्माणको काम भएको छ । त्यस क्षेत्र वरपर रहेका विद्युतिय तार, पोल, स्टे आदीमा चढने, तार छुने, कार्य नगर्न, नगराउन हुन विद्युत प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।