कास्की । पहिरोमा परेर कास्कीमा दुई जनाको मृत्यु भएको छ । मंगलबारबाट परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी मादी गाउँपालिकाकी १३ वर्षीया बालिका आयुश्मा रानाभाट र पोखरा महानगरपालिका-२७ का ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान पौने २ बजे घर पछाडिको माटोको ढिस्को खसेर हजुरआमासँँग सुतेकी आयुश्माको मृत्यु भएको थियो । उनकी ७० वर्षीय हजुरआमा लालमाया बन्जारीलाई सकुशल उद्दार गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
अर्को पहिरोमा पोखरा-२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको घर पहिरोले पुरिँदा हरिका ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी हरिको २७ वर्षीया श्रीमती रितु घाइते भएकी छिन् । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै हरि र उनकी ९ वर्षीया छोरी अन्जली सुनारलाई सकुशल उद्दार गरिएको भए पनि हरिको घर पहिरोबाट पूूर्णरुपले क्षति भएको कास्की प्रहरीले जनाएको छ ।