कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–१० रामनगरस्थित जीवनज्योति स्कुलले पछिल्लो समय विद्यालय लक्षित भइरहेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय लक्षित घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा कहिँकतै विचलित नहुने पनि स्पष्ट पारेको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले तोकिएको चन्दा नदिएको झोकमा विद्यालयका प्रिन्सिपल तथा कर्मचारीमाथि दुव्र्यवहार गरेको विद्यालयले जनाएको छ । आफूलाई केन्द्रीय समितिले चन्दा उठाउन पठाएको भन्दै तुलसी केसी, महेश बस्नेत र विनोद शर्मा भदौ २४ गते विद्यालयको प्रशासन शाखा र प्रिन्सिपल फा. जोमन जेम्सको कार्यकक्षमा प्रवेश गरेको विद्यालयले जनाएको छ । उनीहरुले ५० हजार चन्दा दिन दवाव दिएका थिए । ‘चन्दा सहयोग भन्ने कुरा दवावमा दिने कुरा हुँदैन,' प्रिन्सिपल जेम्सले भने–‘५ हजारदेखि बढी दिन सकिँदैन भनेपछि उनीहरुले ममाथि नै हातपातको प्रयास गरे । पछि प्रहरीलाई बोलाएर उनीहरुलाई विद्यालय बाहिर निकालियो ।’
विद्यालयको वदनाम गर्ने, अनर्गल प्रचार गर्ने गरी उल्टै विज्ञप्ती निकालेर मिडियावाजी गरेको भन्दै आपत्ति जनाए । उनले अहिलेसम्म जीवनज्योतिले कुनै पनि धर्मको प्रचारप्रसार नगरेको स्पष्ट पारे । समाजमा रहेका सबै वर्गलाई सुलभ र गुणस्तरीय शिक्षा दिने अभिप्रायले सञ्चालित विद्यालयविरुद्ध क्रान्तिकारीले गरेको हर्कत अस्वभाविक रहेको पनि उनले बताए । क्रान्तिकारीले अल्टिमेटमसहित बिद्यालयलाई क्षति पुर्याउने धम्की दिएकाले स्थानीय प्रशासनको समेत विद्यालयले ध्यानाकर्षण गराएको छ । विद्यालयमा कुनै अवाञ्छित क्रियाकलाप र क्षती पुगेमा सम्वन्धित पक्ष नै जिम्मेवार रहने पनि विद्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । विद्यालयले कोहलपुर नगरपालिका, नगर शिक्षा समितिको नीति, नियम र परिधिभित्र रही सञ्चालित रहेको पनि स्पष्ट पारेको छ ।