नेपालगन्ज । घुस लिँदालिँदै एक जना वडाध्यक्ष पक्राउ परेका छन् । झापास्थित बुद्धशान्ति गाउँपालिका- २ का वडाध्यक्ष गोपाल ओलीलाई ८० हजार रुपैयाँ घुस लिँदालिँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् ।
वडाध्यक्ष ओलीलाई घुस लिने क्रममा बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडिबाट आज दिउँसो पक्राउ गरिएको हो । अध्यक्ष ओलीले घर जग्गा बाटोको सिफारिस गरिदिए बापत घुस रकम लिन लागेको जानकारी पीडितले पहिला नै गराएपछि योजना बमोजिम रकम लिँदालिँदै ओलीलाई पकाउ गरिएको हो । नियन्त्रणमा लिइएका वडाध्यक्ष ओलीलाई अहिले इलाका प्रहरी कार्यालय अनारमणिको नियन्त्रणमा राखिएको छ ।
प्रहरीले यस घटनाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा खबर गरिसकेको जनाएको छ । आफ्नो क्षेत्राधिकार नपर्ने भएका कारण इलाका प्रहरी कार्यालय अनारमणिले वडाध्यक्ष ओलीलाई अख्तियारलाई बुझाउन लागेको जनाएको छ ।