नेपालगञ्ज । बढ्दो सवारी दुर्घटना न्यूनीकरण सचेतनाका लागि आयोजित नेपालगञ्ज स्लो बाइक प्रतियोगिताको पाचौं संस्करण आज सम्पन्न भएको छ । नेपालगञ्जको न्यूरोडमा सम्पन्न पाचौं नेपालगञ्ज स्लो बाइक प्रतियोगिता २०८१ को उपाधि मुश्रित खानले हात पारेका छन् ।
खानले निर्धारित १०० मिटरको दुरी ५ मिनेट १८ सेकेण्डमा पूरा गरी प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । प्रतियोगिताको बिजेता भएसँगै खानले नगद रु. १५ हजार र प्रमाणपत्र हासिल गरेका छन् । यसैगरी प्रतियोगितामा दोश्रो र तेस्रो स्थान क्रमशः दिपक यादवले ४ मिनेट ४१ सेकेण्ड र नरेन्द्र कुर्मीले ४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गर्दै हासिल गरेका हुन् । महिलातर्फ दिक्षा बुढा क्षेत्रीले निर्धारित दुरी ३ मिनेट ५ सेकेण्डमा पार गर्दै प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।
प्रतियोगिताको पुरस्कार तथा प्रमणपत्र वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राईले सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएको स्लो बाइक प्रतियोगिताले युवाहरुलाई सचेत र सजग गराउने बताए । उनले नेपालगञ्ज उपमहानगरपालिकाले समेत सवारी दूर्घटना न्यूनीकरणका लागि कार्य गरिरहेको बताउँदै यसले उक्त अभियानमा सहयोग पुगेको बताए । उनले यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिएका छन् ।
बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको प्रतियोगितामा निर्णायकको भूमिका ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रबिण आचार्य, एमएस टे«ड इन्टरनेशनल हिरो शोरुम नेपालगञ्जका प्रबन्धक माधब अर्याल र बासका निर्देशक हेमराज भट्टले गरेका थिए ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए । बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।
बासको आयोजनामा भएको कार्यक्रममा प्राविधिक सहयोग जिल्ला ट्राफिक कार्यालय बाँकेले गरेको थियो भने कार्यक्रमको मुख्य प्रायोजकमा एमएस टे«ड इन्टरनेशनल हिरो शोरुम नेपालगञ्ज, सह प्रायोजकमा यज्ञलक्ष्मी अटो डिष्टीब्यूटर होण्डा शोरुम नेपालगञ्ज, ग्रिस एण्ड ग्लोबल ट्रेडिंग प्रालि (टिभिएस) नेपालगञ्ज, ग्लोबल आइएमई बैंक नेपालगञ्जले गरेको थियो भने सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगञ्ज, कोहलपुर डेन्टल हस्पिटल, होटल न्यू इन्द्रेणी न्यूरोड र असल शासन मिडियाको सहकार्य रहेको थियो । प्रतियोगितामा ५४ जनाले सहभागिता जनाएका थिए ।