नेपालगञ्ज । बाँकेको कोहलपुरमा जारी आठौं अन्तर मावि मेयर कप तथा १७औं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगिता-२०८१ मा आधारभूत विद्यालय (आवि) तर्फ ग्रिनपिसले बर्चश्व कायम गरेको छ । प्रतियोगिता सुरु भएको दोस्रो दिन आधारभूत तहमा ग्रिन पिसले २ स्वर्ण, ३ रजत प्राप्त गरी आफ्नो बर्चश्व कायम गरेको हो ।
यस्तै जनज्योति पब्लिक हाइस्कुलले १ स्वर्ण, २ रजत र निम्बल एकेडेमीले १ स्वर्ण, १ रजत र १ कास्य प्राप्त गरी ग्रिनपिसलाई पछ्याइरहेका छन् । आविमा कृष्ण मावि, त्रिभुवन मावि, गोर्खा यूनाइटेड र जीवनज्योतिले १/१ स्वर्ण ल्याएका छन् । आधारभूत तहतर्फको छात्रा भलिबलमा साइनिङ्ग स्टार एकेडेमी प्रथम, ग्रिनपिस मावि द्वितीय र कृष्ण मावि तृतीय भएका खेलकुदका सदस्य सचिव दिलिप वलीले जानकारी दिए ।
यस्तै माध्यमिक विद्यालय (मावि) तर्फ कृष्ण माविले आफ्नो बर्चश्व कायम गरेको छ । कृष्ण माविले २ स्वर्ण, १ रजत ल्याएको छ भने त्रिभूवन माविले २ स्वर्ण ल्याएको छ । गोर्खा यूनाइटेड, पञ्चमूखी, डाइनामिक, सगरमाथा ज्ञानपुञ्ज, बागेश्वरी इ.मि. स्कुल, बालविद्या मावि, बागेश्वरी एकेडेमीले १/१ स्वर्ण ल्याएका छन् । आवि र माविमा ५४ वटा स्वर्णका लागि प्रतिष्पर्धा हुँदैछ भने आविको लागि छात्र भलिबल मात्र बाँकी रहेको प्रतियोगिताका सदस्य सचिव दिलिप वलीले जानकारी दिए ।
यस्तै प्रतियोगितामा मावितर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ६५ हजार र तृतीय हुनेलाई ५५ हजार रहेको छ भने आवितर्फ प्रथम, दिवतीय र तृतीयले क्रमशः २५ हजार, २० हजार र १५ हजार प्राप्त गर्नेछन । उत्कृष्ट खेलाडीलाई ५१ हजार नगदसहित सम्मान गरिनेछ । यस्तै प्रतियोगितामा कोहलपुर नगर क्षेत्रका (सामुदायिक र निजी) ५३ विद्यालयका २ हजार १ सय ६७ जना खेलाडी (छात्रछात्रा) हरुले प्रतियोगितामा सहभागी हुनेछन् भने छात्र १ हजार ३ सय ७ जना र छात्रा ८ सय ६० जना छन् ।
प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट रहेका छन् । यो वर्षदेखि चेस विधा थपिएको छ भने चेस प्रतियोगितालाई उपाधिका लागि गणना नहुने नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिए । प्रतियोगिता १९ गतेसम्म सञ्चालन हुनेछ ।