नेपालगञ्ज । नेपालगञ्जमा सुरक्षित बैदेशिक रोजगारीसम्बन्धि अन्तर सरकार समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको आयोजना तथा सामीको समन्वयमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकी बरिष्ठ नर्सिंग प्रशासक ईश्वरी केसी र सामीका लुम्बिनी प्रदेश व्यवस्थापक विजय ठाकुरले प्रस्तुतिकरण गरेका थिए । त्यसक्रममा बैदेशिक रोजगारीलाई कसरी सुरक्षित, मर्यादित र ब्यवस्थित बनाउने भन्ने विषयमा पालिकाका प्रतिनिधि, विभिन्न संघसंस्था र कार्यालयका प्रमुख एवम् प्रतिनिधिबीच अन्तरक्रिया समेत गरिएको थियो । जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सीता कार्कीको अध्यक्षता एवम् जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सामीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सूचनामा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, न्यायमा पहुँच र निःशुल्क सीप सेवा प्रदान गरिरहेको छ । बाँकेमा हालसम्म ६ करोड ९७ लाख आर्थिक सहायता तथा क्षतीपूर्ति सहजीकरण, ३५ हजार भन्दा बढीलाई सूचना प्रवाह, ५०० को हाराहारीमा मनोसामाजिक परामर्श सेवा सेवा प्रदान गरिसकिएकोे कार्यक्रम संयोजक नेपालीले बताए । जिल्लामा चार वटा पालिकाले सामी कार्यक्रममा ३८ लाखको हाराहारीमा साझेदारी गरेको पनि नेपालीले जानकारी दिए । बाँकमा हाल नेपालगञ्ज, कोहलपुर, बैजनाथ र खजुरामा सामी कार्यक्रम सञ्चालनमा छ । नरैनापुर र जानकीमा अब सञ्चालनको तयारी गरिएको छ भने डुडुवा र राप्तीसोनारीमा संचालनको प्रक्रिया थालिएको छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ । सामी कार्यक्रम ७७ जिल्लाका २६७ स्थानीय तहमा सञ्चालित छ ।