नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आज होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । हिन्दुहरुको महान पर्व होलीको अवसरमा नेपालगञ्ज-४ सञ्चारग्राम (बसपार्क) मा होली मिलन कार्यक्रम सम्पन्न भएको हो । 'खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर' भन्ने भावका साथका मनाइएको होली मिलन कार्यक्रममा आपसमा शुभकामना साटासाटसंगै रंग खेलेर रमाइलो गरिएको थियो ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरापालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीका गणपति सशस्त्र प्रहरी प्रमुख एसपी शोभाकान्त खनाल, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारी, प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य, नेपालगञ्ज उद्योग बाणिज्य संघकी उपाध्यक्ष मन्दिरा पाण्डेले होलीको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले होलीलाई रंग र सद्भावको पर्वको रुपमा मनाउँदै आपसी तिक्तता भुलेर नयाँ ढंगले अघि बढ्नुपर्ने सन्देश होलीले दिएको बताए । महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, निवर्तमान कार्यबहाक अध्यक्ष संगिन शर्मा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले शुभकामना दिएका थिए । शाखा उपाध्यक्ष तिलक गाउँलेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए ।

(फोटोफिचर)















