नयाँ दिल्ली । भारतको छत्तीसगढको नक्सल प्रभावित सुकमा जिल्लामा नक्सलवादीसँग भएको मुठभेदको क्रममा बेपत्ता भएका १७ जना प्रहरी जवानको शव फेला परेको छ । छत्तीसगढ प्रहरीले यो घटनाको पुष्टि गरेको छ ।
नक्सलवादी प्रभावित बस्तर इलाकाको चिन्तागुफा थापा क्षेत्रमा शनिबार सुरक्षा बलका जवान र नक्सलवादीबीच झडप भएको थियो । घटनामा नक्सलवादी पनि मारिएका भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।
कोराजगुडाको पहाडी क्षेत्रमा भएको मुठभेडको क्रममा सुरक्षा बलका १४ जवान घाइते भएका छन् । प्रहरीले कयौं नक्सलवादीलाई मारिदिएको दावी गरे पनि यकिन संख्या भने खुलाएको छैन ।
भिडन्तपछि प्रहरीका १७ जनान बेपत्ता थिए । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजबिन गर्दा १७ प्रहरी जवानको लास जंगलमा भेटिएको हो ।
प्रहरीले आफूहरुले नक्सलवादी नेताहरुलाई पनि मार्न सफल भएको जिकिर गरेको छ । केही नक्सलवादीहरु घाइते भएका छन् । घाइते प्रहरीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।