बिरगञ्ज। पर्सा जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखिया कोरोना संक्रमण फैलाउने संदिग्ध गतिविधीमा संलग्न रहेको भन्दै भारतीय मिडियाले समाचार सार्वजनिक गरेपछि सीमाको जिल्ला पर्सामा सुरक्षा सतर्कता व्यापक बढाइएको छ।
भारतीय सीमा सुक्षा बल एसएसबीको एक पत्रलाई उदृत गर्दै भारतीय समाचार संस्थाहरुले प्राथमिकताका साथ सो बिषयमा समाचार प्रसारण गरेपछि भारत र नेपालमा यसले हलचल नै ल्याएको छ। मुखियालाई कोरोनाले ग्रसित व्यक्तिहलाई भारत पठाउन तयारी गरेको आरोप लागेको छ।
सीमा सुक्षा बल एसएसबीको सैंतालिसौ बटालियनका कमाण्डेण्ट प्रियवर शर्माले चैत्र २१ गते वेतीयाका डिस्ट्रीक मेजिष्ट्रेट र एसपीलाई एक पत्र लेखी हातहतियार र जाली नोटको कारोवारमा समेत संलग्न रहेको मुखियाले कोरोना संक्रमितहरुलाई भारत प्रवेश गराउने तयारी गरेको उल्लेख गरेको संगिन आरोप सहित पत्र पठाएका थिए।
शर्माले आफ्नो पत्रमा सीमामा उच्च सुरक्षा अपनाउन समेत आग्रह गरेका छन्। अहिले सोहि पत्रको आधारमा भारतीय सरकारले रक्सौलसँग जोडिएको नाकामा थप सुरक्षाकर्मी परिचालन गरेको छ। विदेशबाट आएका करिव २ सय मुसलमानहरुलाई मस्जिदमा संरक्षण दिएको र त्यसमध्ये कोरोना संक्रमित ५० जनालाई भारत पठाउन मुखियाले योजना बनाइरहेको शर्माले पठाएको पत्रमा जनाइएको छ।
बारा र पर्साका विभिन्न मस्जिदमा बसिरहेका कोरोना संक्रमित केहि मुसलमानहरु सिटामोल खाएर तापमान नियन्त्रण गर्दै बसेको खुफिया जानकारी समेत उनको पत्रमा छ। मुखियाले त्यस्ता संदिग्ध व्यक्तिहरुलाई भारत प्रवेश गराउन मौका कुरेर बसेको भन्दै सीमा सुरक्षा बढाउन माग समेत गरेका छन्। यो बिषय भारतीय मिडियामा आए लगत्तै रक्सौल सीमामा १५ देखि २० ट्रक एसएसबीका जवान खटाइएको छ। श्रोत: हाम्राकुरा।