काठमाडौं । निजी विद्यालय सञ्चालकहरूको छाता संगठन नेशनल प्याब्सन र प्याब्सनले अभिभावकलाई शुल्क तिर्न आग्रह गरेको छ। विद्यालयमा उपस्थित भई पूरानो शुल्क बाँकी रहेको भए चुक्ता र नयाँ शैक्षिक सत्रअनुसार विद्यार्थी भर्ना गरी शुल्क उपलब्ध गराइदिन अभिभावकलाई उनीहरूले आग्रह गरेका हुन्।
आइतबार संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको कारणले हाम्रा विद्यालयहरु लगातार बन्द रहँदा विद्यालयको आम्दानी शुन्य भएको, हाम्रा विद्यालयहरुमा आश्रित २ लाखभन्दा बढी शिक्षक कर्मचारी तथा उहाँहरको परिवारको जीवनयापन कठिन भएको अवस्थ छ ।’
प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयमा उपस्थित भएर विद्यार्थी भर्ना गर्नसमेत आग्रह गरेका छन् । सामाजिक दुरी कायम राखेर नयाँ तथा पुराना विद्यार्थीले अभिलेखीकरण गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘२०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।’

