नेपालगन्ज । पुर्वमन्त्री महेश बस्नेत विरुद्ध फेसबुकमा स्ट्याटस लेखेको आरोपमा बाँकेका एक जना ब्यक्ति पक्राउ परेका छन् । नेकपा नेता तथा पूर्व मन्त्री महेश बस्नेत र नेपाल प्रहरीका पुर्व प्रमुख सर्वेन्द्र खनालका विरुद्ध स्ट्याटस लेखेको आरोपमा नेपाली काँग्रेस बाँकेका क्रियासिल सदस्य डिल्लीबहादुर चन्दलाई पक्राउ गरिएको छ । चन्दले झन्डै ७/८ महिना पहिले बस्नेत र खनालले सांसद अपहरण गरेको बारेमा सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए । त्यही स्ट्याटस लेखेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का चन्दलाई पुस १४ गते राति पक्राउ गरिएको छ । गोर्खाज फाइनान्समा डिउटी बसेका चन्दलाई त्यहीबाट पक्राउ गरिएको चन्दको पारिवारीक स्रोतले जनाएको छ । यसैबीच, नेपाली काँग्रेस बाँकेले एक बिज्ञप्ति प्रकाशित गरि घटनाबारे गम्भीर ध्यानकर्षण भएको जनाएको छ । बाँके कांग्रेसका उपसभापति सुनिल नरसिंह राणाले चन्दको अबस्था तत्काल सार्वजनिक गर्न, परिवार र आफन्त संग सम्पर्क गराउन र बिनासर्त रिहा गर्न उपसभापति राणनाले माग गरेका छन् । उपसभापति राणाले गिरफ्तार गरि बेपत्ता पारिएका चन्दको अवस्था सार्वजनिक नगरिए कडा कदम चाल्न बाध्य हुने चेनावनी पनि दिएका छन् । नेता बस्नेत नेपालगन्जमा आइसकेपछि चन्दलाई त्यति लामो समय पछि पक्राउ गर्नुमा प्रहरीको स्वार्थ रहेको बुझिएको छ।