नेपालगन्ज। एउटै पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ ।
आज धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा पाच बालिकाको पोखरीमा डुबेर मृत्यु भएका छन् ।
मृत्यु हुनेहरुमा मुखियापट्टी मुसहरनीया गाउँपालिका स्थानीय जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललित साह रहेको धनुषा प्रहरीले जानकारी दिएको छ।
धनुषा प्रहरी का अनुसार गाउँलेहरुले जथाभावीरुपमा मापदण्डको कुनै ख्याल नै नगरी आय आर्जनका लागि माछा पालनको नाममा पोखरी खन्दा यस्तो घटना निम्तिएको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घरबाट खाना खाएर दिउँसो करिव साढे १२ बजेको समयमा बालिकाहरु समूहमा बाख्रा चराउन गएको बेला माछापालनका लागि स्थानीय हुलास यादवले खेतमा खनाएको पोखरीमा नुहाउने क्रममा उनीहरु डुबेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मकेन्द्र कुमार मिश्रले घट्नास्थलको अवलोकन गरेपछि घटना बारे विस्तृत जानकारी दिएका छन् ।
प्रहरी स्रोत का अनुसार बालिकाहरु घरबाट बाख्रा चराउन चौर तर्फ निस्किएको र सोही क्रममा सो पोखरीमा उनीहरु नुहाउनका लागि प्रवेश गरेको बताएको छ।
उनीहरुसँग अन्य दुईजना बालिका पनि थिईन् । तर उनीहरुले आफूहरु ननुहाउने भन्दै पोखरीमा पसेनन् । पाचैँ जना नुहाईरहेको क्रममा डुब्दै गरेको देखेपछि ति दुई जना बालिका गाउँमा पुगेर स्थानीयलाई जानकारी गराएको छ।
गाउँलेहरु तत्कालै घटनास्थलमा पुगेर हेर्दा उनीहरुको शव पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थल पुगेर मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरी स्रोतले जानकारी दिएको छ।