नेपालगन्ज । गृहमन्त्री बालकृष्ण खाणले प्रहरीमा अब देखि "तँ" भनेर बोलाउने शब्द प्रयोग नगर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कसैले पनि कसैलाई "तँ"भनेर सम्बोधन नगर्न निर्देशन दिएका हुन् ।
जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन् ।गृह मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी भएका थिए ।
नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजिपी)विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए।
मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा सम्मानार्थी शब्द प्रयोग गर्न निर्देशन भएको छ,’ पोखरेलले भने, ‘अब संगठनमा कसैले कसैलाई "तँ" भन्न मिल्दैन। सम्मानार्थी शब्द प्रयोग गर्नुपर्छ।
मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अब सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाँणले दिएको उनको सचिवालयले जनाएको छ ।
संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो संगठनभित्र एकले अर्कालाई सम्मान सहितको सेवा सञ्चालन गर्नुपर्ने भन्दै गृहमन्त्री खाणले निर्देशन दिएका हुन्।