पोखरा । चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवनले उपाधि जितेको हो ।
पोखरा रंगशालामा भएको फाइनलमा चितवन राइनोजले दिएको २०३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको विराटनगर टाइटन्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनमात्रै जोडेको थियो ।
विराटनगरले खराब सुरुवात गरेको थियो । विराटनगरले सुनिल धमला र लोकेश बमलाई सुरुवाती ओभरमा नै गुमाएको थियो । धमला ४ बलमा एक चौका प्रहार गर्दै दोस्रो ओभरमै आउट भएका थिए । उनलाई चितवनका सनी पटेलले बल्ड आउट गरेका हुन् ।
त्यस्तै बमलाई चितवनका करण केसीको बलमा बाबर हायतले क्याच आउट गरेका थिए । बमले १ रन मात्रै जोडेर आउट हुन पुगेका हुन् । साथै नोमन खान १८ बलमा २ चौकासहित १८ रन बनाएर आउट भएका थिए । उनलाई आरिफ शेखले रन आउट गरेका हुन् ।
विराटनगरका मोहम्मद जायद आलमले अर्धशतक पार गरे पनि उनको टोलीले जित निकाल्न सकेन । आलमले ४८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रन बनाएर आउट भए । उनलाई रोहन मुस्ताफाको बलमा भुवन केसीले क्याच आउट गरेका थिए । त्यस्तै पुनित मेहरा १३ बलमा २ चौका र ३ छक्कासहित ३२ रन बनाएर आउट भए ।
साथै विराटनगरका प्रदिप ऐरीले २५ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाउँदै पेभिलियन फर्किए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । चितवन राइनोजले कप्तान पारख खड्का र बाबर हायतलाई खेलको सुरुमा गुमाएको थियो । खड्का २५ रन बनाएर आउट भएका थिए । खड्काले ११ बलमा ४ चौका र १ छक्कासहित उक्त रन जोडेका हुन् । उनलाई किशोर महतोको बलमा नोमन खानले क्याच आउट गरेका थिए । त्यस्तै बाबर हायत ५ बलमा ५ रन जोडेर आउट भएका थिए । उनलाई मोहम्मद जायद आलमले आउट गरेका थिए ।
तर चितवनका लागि रोहन मुस्ताफा र अनिल साहले उत्कृष्ट साझेदारी गरेका थिए । दुबै जनाले ६३ बलमा ९५ रनको साझेदारी गरेका थिए । साथै दुबैजना अर्धशतक बनाएर आउट भएका थिए । रोहनले ४३ बलमा ३ चौका र १ छक्कासहित ५० रन बनाए भने अनिलले ३४ बलमा ३ चौका र ३ छक्कासहित ५० बनाए । त्यस्तै चितवनका आरिफ शेख ११ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाएर आउट भए ।
यता चितवनका करण केसीले ८ बलमा २ चौका र २ छक्कासहित २६ रन र सनी पटेलले ८ बलमा २ चौकासहित १६ रन बनाउँदै अविजित रहे ।
विराटनगरका लागि पुनीत मेहरा र मोहम्मद जायद आलमले समान २ विकेट लिए । त्यस्तै किशोर महतोले एक विकेट लिए ।
यता चितवनका लागि करण केसीले सर्वाधिक ३ विकेट लिएका थिए । सनी पटेलले २ र रोहन मुस्ताफाले १ विकेट लिए ।
चितवन लिग चरणमा ५ वटै खेलमा जित निकाल्दै फाइनलमा पुगेको टोली हो । टुर्नामेन्ट भर अविजित रहेको चितवन राइनोज यस पटक पिपिएलको उपाधि जित्न समेत सफल भएको छ ।
विराटनगर लिग चरणमा ५ खेलमा ३ मा हार र २ मा जित सहित काठमाडौं गोल्डेन्स वारियर्सलाई नेट रनरेटले पछि पार्दै प्ले अफमा पुगेको थियो । क्वालिफायरमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा प्रवेश गरेको थियो ।
यो सँगै च्याम्पियन चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेका छन् ।